प्रिय जुली - विचार-विमर्श

नयाँ

Saturday, May 18, 2013

प्रिय जुली


प्रिय जुली
अतिथि देवोः भवः
स्वागत छ तिमीलाई
विच्छाएर हरियो गलैंचा
तराईंका फाँटहरुमा
छरेर शितलता, हिमाली झरनाहरुमा
तिम्रो पर्खाइमा छन् विल्कुलै तिम्ले नदेखेको
काँडेभ्याकुरका जोडीहरु
चखेवाको भाले - पोथी
आऊ मेरो देशमा
सुन्दर, शान्त र विशाल परिवेशमा ........

म तिमीलाई बुद्धको क्रिडाभूमि देखाउने छु
सतीदेवीको पीठको दर्शन गराउने छु
गुन्द्रुक र ढिंडोमा
रोदीघरको आँगनमा
देउसी भैलो र सारंगीको धुनहरुमा
सुनाउँला फाग र मालसिरीका कथाहरु
भारत,  हुड्कोको तालमा........

प्रिय जुली
कत्ति नभुली
हिमालचुलीको देशमा
तिमीलाई स्वागत छ
फेवा र रारा तिम्रो पर्खाइमा
कुरिरहेछन्
खैंजडी र मुजुराहरु
बोकेर ठूले दाइ
सेल पकाएर
साइँली दिदी
पर्खिरहेछिन्
एकैछिन्
तिम्रो यान्त्रिक सभ्यताको गन्ध छाडेर
प्रिय सखे
बिमारी हुने चिन्ता नलिए
पाँचऔंले, सिल्टिमुर र घोडताप्डेको जरा घोटेर
ऐंसेलु र बादुलपातेको रसले
भोटे दाइको खलमा पिनेर
पिलाउँला चौरी र भेडाको दूध
राखेर ऊनको गलैंचामा
सञ्चो बनौली
बनाएर हृष्ट पुष्ट पठाऔंला
फर्कने बेला
सुनाखरी र पलाँसको
थुंगाले सजाएर तिम्रो केशमा
आफ्नै देशमा
आफ्नै परिवेशमा
सुनाए तिम्रा संगीहरुलाई मेरो निमन्त्रणा
सके आऊन तिमीसँगै
बाँकी तिमीसँगको भेटमा
उही तिम्रो रोमियो
सगरमाथको देशबाट । ।
sourcr- www.hamrosammohan.blogspot.com 

No comments: