"कविता लेख्दिन महाशय….." - विचार-विमर्श

नयाँ

Saturday, February 9, 2013

"कविता लेख्दिन महाशय….."




म अब कविता लेख्दिन महाशय !
किन लेख्नु र कविता
रमितै रमैताको देशमा
मैले पनि त रमिता गर्नुछ
अनि मैले पनि अरुले झैं
नेपाल बन्द गर्नुछ
गर्नु छ चोक - चोकमा आमाहड्ताल
नत्र म यो सानो नेपालबाट सदाको लागि
डाइनोसर बनेर विलिन हुनेछु
त्यसैले म अब कविता लेख्दिन
मलाई कवी बनेर निस्कनु छैन
थाछ महाशय !
कविता लेखेर शहरमा महल बन्दैन
न त मेरो कविता सहजै छापिन्छन
किनकी मैले कुनै सम्पादकलाई चिनेको पनि छैन
न त कुनै कक्टेल पार्टी गराएको छु
त्यसैले माफ गर्नोस् म अब कविता लेख्दिन
बरु अरुले झैं बन्द - हड्ताल गर्न मैले पनि जरुर सिक्नु छ
दुई-चार जनालाई कुटेर भएर पनि
नेता बन्नु छ
सबैलाई खुला चुनौती दिंदै भन्नुछ
ए सक्छ्स् भने मलाई समा…….
तर कविमा यो विशेषता हुँदैन
त्यसैले म झुक्किएर पनि कवी बन्दिन
अब मलाई छिट्टै नाम र दाम चाँहीएको छ
चाहे संसद वहिष्कार गरेर होस्
या त आफैंलाई परिष्कार गरेर
वा त अर्को पार्टी स्विकार गरेर ……
म अब कविता लेख्दिन र कवी पनि बन्दिन
मलाई देव बन्नुछ चाहे रामदेव होस् वा वामदेव
महाशय मलाई
अब जसरि पनि नेता बन्नुछ
टुहुरे कवी होइन
मलाई एक होनहार नेता बन्नुछ
त्यसैले कविताकै कसम
म कविता लेख्दै-लेख्दिन …….

No comments: