‘यौन सिकारमा छचल्किएको आँसु’
👉राजिन पनेरू
👉राजिन पनेरू
‘तिमीले मलाई धेरै पटक मार्यौ । तर, मैले त तिमीलाई एकपटक मात्र मारेँ । युद्धको नियम, कि मार्नु हो कि मर्नु हो । यदि तिमीलाई मैले नमारेको भए तिमीले मलाई अवश्य मार्ने थियौ ....।’ हरेक कुराको सीमा हुन्छ, सीमाको ख्याल नगरी पटक–पटक त्यसको उल्लङ्घन गरियो भने अवश्य त्यो एकदिन विस्फोट हुन्छ । अब उसको धैर्य विद्रोहमा परिणत भइसकेको छ । अभिजित समशेर जङ्गबहादुर राणाको भव्य भइकन पनि कुरूप दरबार पापले भरिएको छ । अब आर्याले पापको पोको बोक्ने छैन । कुनै सैनिक अफिसरको प्रेम पत्रमा फस्ने छैन ऊ र भर्ने छैन मन्त्रीजीका प्यालाहरू । पाक्ने छैनन् अब कालिजका मासु शहरका भान्साहरूमा र झर्ने छैन गरिबका आँसु मालिकका थालबाट । त्यहीँबाट सुरु हुने छ एउटा स्वतन्त्र नारीको अस्मिता रक्षाकोे विद्रोह ।
यही विद्रोह गर्न लगाएका छन् अन्त्यमा आर्यालाई खुकुरी भिराएर आख्यानकार लक्ष्मण सिटौलाले । प्रसङ्ग हो, पछिल्लो समय भिजन पब्लिकेशनद्वारा प्रकाशित लक्ष्मण सिटौलाको औपन्यासिक कृति आर्याको ।
यही विद्रोह गर्न लगाएका छन् अन्त्यमा आर्यालाई खुकुरी भिराएर आख्यानकार लक्ष्मण सिटौलाले । प्रसङ्ग हो, पछिल्लो समय भिजन पब्लिकेशनद्वारा प्रकाशित लक्ष्मण सिटौलाको औपन्यासिक कृति आर्याको ।
युग संगत प्रतिबिम्ब बोकेको आर्याले ग्रामीण परिवेशको हावापानीमा हुर्के–बढेकी सरल–सोझी युवती आर्याको सोझो चित्रण प्रस्तुत गरेको छ । कसैको निगाहमा बक्सिस पाएको जमीनले पोतिएको आर्याको भविष्य नाबालक उमेरमै आर्यनजस्तो कुपात्रको हातमा बेचिन विवश भएको छ । ललाइ–फकाइ एक जोर कुर्तासलवारमा किनेको आर्याको कौमारीत्वलाई बीच बाटोमै बिटुल्याउने आर्यन राणाकालीन समाजको कुरूप पात्र हो । उस्को नशामा बगेको खानदानी रगतले असंख्य कलिला नारीहरूको मातृ सिर्जनालाई कुरूप बनाएको छ । जसको कुनै लेखाजोखा नै हुँदैन आजको समाजमा । बाहिर सुरक्षाको बलियो घेरा बाँधेर भित्र कयन निर्दोष प्रााणीको शरीर नङ्ग्याइरहेका सैनिक अफिसर, मन्त्रीजी, लाहुरेहरू, समाजका उच्च ठानिएका व्यक्तिहरू नै न्यायको ठेली बोकेर अदालतमा वकालत गरिरहेका छन्– नारी अस्मिताको । अभिजित शमशेरका आलिसान महल हिजोको राणाकालमा मात्र होइन आजको समाजमा पनि उत्तिकै मात्रामा पाउन सकिन्छ ।
सभ्य मानिएको आजको समाजमा पनि नारीको स्थिति उही छ जुन हिजोको दरवारभित्र हुन्थ्यो । समाजशास्त्रीय चिन्तनका साथ हेर्ने हो भने यी सबै नियति पितृसत्तात्मक समाजले जन्माएको उपज हो । उत्पादनका साधनको प्रयोगद्वारा हुने खाने वर्गले हुँदा खाने वर्गलाई चुसिरहेका छन् र गरिबका ढाडलाई बनाइरहेका छन्– मानव प्रयोगशाला । यसैलाई बकस सम्झेर काल पर्खिरहेका छन् हुँदा खाने वर्गहरू । आर्याको स्थिति आजको समाजमा पनि उत्तिकै रूपमा जीवित देखिन्छ ।
सहरबाट चिल्लो गाडी लिएर गाउँको रातो भाले र लोकल ठर्रामा कुमारी नानीहरूको जवानी लुट्न पल्केका खलनायकहरू नै देशविकासको बागडोर समालिरहेका छन् । उनका विरुद्ध कसले कहाँ उजुरी दिऊन् ? आर्थिक समस्याले गर्दा धनी वर्गको मुख ताक्नु पर्ने र उनीहरूको इशारामा बाँच्नुपर्ने बाध्यात्मक स्थितिले सञ्चालित जुवाखाना र चल फलाँसले सयौँ नेपाली नारीको अस्मितालाई कौडीको भाउमा बिक्न बाध्य बनाएको छ । आज पनि शहरका कयौँ स्थानमा यस्ता पाश्चात्य क्रियाकलाप दिनहुँ घटिरहेका छन् जसलाई हामी चरम विकृतिको संज्ञा दिएका हुन्छौँ र भन्छौं अश्लिलताको पराकाष्ठा ।
आर्थिक शोषणका कारण उत्पन्न वर्गीय विभेदका कारण आजको नेपाली समाज दिनप्रतिदिन खाडलमा फस्दै गइरहेको छ । जसका कारण धनी झन धनी बन्दै छन् भने गरिब झन गरिब । कथित तन्त्रीय घोषणाले जति सुकै ठूला नारा फलाके पनि कयौँ गरिब जनताको घरको चूल्हो अझैं पनि चिसै छन् । कुत बुझाएर र मालिकलाई खुसी पारेर जीवन धानिरहेका उपन्यासकी मुख्य पात्र आर्याको परिवार आज पनि सरकारलाई अनावश्यक ट्याक्स र महंगीको नगदे बिल तिरेर बाँचिरहेका छन् । दरवारीया भोगविलास, आर्थिक आधिपत्य, यौन शोषण, क्रुर अमानवीय व्यवहार जस्ता मध्यकालीन बर्बरताको पूर्ण सङ्केत नायक आर्यन भित्र पाइन्छ । जुन प्रवृत्ति आजका सरकारी तथा गैह्रसरकारी संघसंस्थामा बसेर अकूत धन कमाइरहेका विलासि प्रवृत्तिका पदीय व्यक्तिहरूमा पाउन सकिन्छ । उता बजारीया पुतली बनेर आजको उत्तरआधुनिक समाजमा आफ्नो रूप सौन्दर्य बेचिरहेका छन् कयौँ आर्याहरू । मानौँ सुन्दरता नै उनीहरूको दैनिक रोजीरोटीको मुख्य साधन हो ।
यौनको भोक मेटाउने नाममा गरिब जनताको सधैंको भोक मेटाउने अभिजित शमशेरजस्ता पात्रहरू हिजो–आजको समाजमा जति भने पनि पाउन सकिन्छ । पैसावालको यौनको शिकार भएर महलभित्रको कोठामा थुनिन बाध्य आर्याहरूको स्वतन्त्र आकाशमा उड्ने सपना कहिले पूरा होला ? अनि कहिले होला नारी स्वतन्त्रताको र जनसमानताको लक्ष्य प्राप्ति ? दस्ताबेजमा लाइनका लाइन नारा लेख्दैमा शोषणरहित समाजको निर्माण गर्न सकिने भए आजको समाज लेखकको आर्याभित्र कैद हुँदैनथ्यो । लेखक बाध्य छन् समाजको चित्र कोर्न । एक व्यक्तिले अर्को व्यक्तिको हत्या गर्नु राम्रो काम अवश्य होइन परन्तु बदलाको भाव जब मान्छेमा सिर्जना हुन्छ, त्यसको परिणाम नराम्रो हुन्छ । यस्तै भएको छ प्रस्तुत उपन्यासमा । आर्याले अनेकौँ बिन्ति गर्दा पनि आफ्नो जन्मभूमिमा फिर्ता हुन पाउँदिन । न त पाउँछे आमाको मृत्यु हुँदा समेत घर जान । त्यति हुँदा पनि ऊ आर्यनको यौनशोषण सहेर बसिरहेकी हुन्छे । प्रत्येक रात आर्यन र त्यतिले पनि भएन कहिलेकाहिँ त पिता समानका कथित ससुरा अभिजित शमशेरले समेत आर्याको शरीरको भोग गर्न पुग्नुलाई कसरी समीक्षा गर्ने ? पढ्दा र सुन्दा पनि कहाली लाग्छ । तर यो सामान्य लाग्छ आजको समाजमा । आफ्नै पिताबाट बलात्कृत हुन पुगेकी असंख्य छोरीहरूको सत्य घटना हाम्रा समाजमा हिजो आज पनि घटिरहेका छन् । जसको प्रतिच्छाया सिटौलाको आर्यामा पाउन सकिन्छ । उसो त लेखक उभिने धरातल भन्नु नै ऊ बाँचेको समय, जात र पर्यावरण हो । सिटौला पनि आर्यामा समाजका माझ नै छन् । उनलाई कथानको संयोजन गर्न कुनै नयाँ स्थानको परिकल्पना गर्न आवश्यक देखिँदैन । बाह्य परिवेशका रूपमा काठमाडौँ वरपरको (सायद नुवाकोट ?) दृश्य र ठमेलको केही परिवेश नै उपन्यासमा पाउन सकिन्छ भने आन्तरिक रूपमा अभिजित शमशेरको दरवार र आर्याको जन्मभूमि वरपरको सुन्दर परिवेशलाई देखाइएको छ ।
उपन्यासमा आर्यन खलपात्रका रूपमा देखा परेको छ भने आर्या नायिकाका रूपमा उपस्थित छे । राणा खानदानमा हुर्के–बढेको पात्र आर्यन कर्नेल पिता अभिजित शमशेर जंग बहादुर राणाको छोरो हो । उसका देखिएका दुई श्रीमतीबाहेक आर्याजस्ता गाउँबाट जालमा पारेर ल्याइएका असंख्य श्रीमतीहरू छन् । समग्रमा आर्यन पैसा र पदमा मात्तिएको गरिबहरूको झुपडीमा पीडाको आँसु रोप्ने परपीडन पात्र हो । उसमा विलासिताको घमण्ड छ भने धन सम्पत्तिमा गरिबको सपना किन्न सकिन्छ भन्ने उच्च अहम्ता पाइन्छ । यसर्थ आर्यनलाई प्रतिकूल चरित्र बोकेको बर्बर पात्रको रूपमा चित्रण गर्न सकिन्छ भने आर्याको सुन्दर अनुहारमा तेजाब खनाएर अमानवीय पैशाची कार्य गर्ने क्रुर पात्रका रूपमा लिन सकिन्छ । आर्या गाउँघरको हावापानीमा हुर्के–बढेकी सरल र सोझी पात्र हो । ९ कक्षामा पढ्दै गर्दा आर्यनको लोभ र मूलतः पारिवारिक दायित्व बहन गर्नुपर्छ र भाइको सुन्दर भविष्यलाई नष्ट गर्नु हुन्न भन्ने सोच बोकी बाध्यात्मक स्थितिमा शहर जान विवश पात्र हो । आमालाई आर्यनले दिएको नयाँ कपडाले ईष्र्या गर्ने ईष्यालु स्वभावकी पात्र पनि हो आर्या । यद्यपि बाआमा र भाइको सुन्दर भविष्यलाई जगेर्ना गर्न आपूm स्वयम् बलि चढ्न पुगेकी आर्याले अन्तमा अनेकौँ समस्यासँग जुधेर चरमोत्कर्ष पीडाको घडीमा आर्यनको घाँटीमा खुकुरी छप्काउन पुग्छे । आर्यालाई कथानकको सुरुमा शहरको सुन्दर सपना देख्ने सरल हृदय भएकी नारी, मध्य भागमा आर्यन र अभिजित शमशेरको दर्दानक पीडा सहेर भए पनि आफ्नो कर्तव्य गर्ने कर्तव्यपरायण नारी र अन्त्यमा अत्याचारीको घाँटी निमोठ्ने साहसिक नारीका रूपमा लिन सकिन्छ । अभिजित शमशेरलाई यौनप्यासी, विलासी तथा घरमा शोषण गरिएको धनमा दाइँ हाल्ने सामन्तवादी पात्रका रूपमा चित्रण गर्न सकिन्छ भने आर्याका मातापिता र भाइलाई साहुका निगाहमा बाँच्न विवश पात्रका रूपमा चित्रण गर्न सकिन्छ । आर्याको वक्षस्थलमा पैसाले हिर्काउने पुलिस अफिसर अन्तमा प्रेमी बनी आर्यालाई पत्र पठाए पनि उसभित्र स्वार्थको ठूलो हिस्साको बास पाउन सकिन्छ ।
पूर्वदीप्ति शैलीमा बुनिएको आर्याको समग्र कथानकले हिजोको राणाकालीन वा दरबारी समाजलाई मात्र होइन आजको समाजलाई पनि उत्तिकै चित्रण गरेको छ । आर्याको आन्तरिकका साथै समाज र आर्यनसँगको बाह्य द्वन्द्वलाई देखाइएको प्रस्तुत उपन्यासले नारीमनोविज्ञानलाई सम्बोधन गर्ने यत्न गरेको छ । निकै सरल र सहज तथा काव्यात्मक भाषाशैलीमा प्रस्तुत गरिएको उपन्यासले पाठकमा श्रुतिमधुरता प्रदान गर्न पनि सफल देखिन्छ । हिन्दु नारीको प्रतीक मानिने आर्या र कथानककी मुख्य पात्रको नामबाट तय गरिएको उपन्यासको शीर्षक ‘आर्या’ सरल खालको देखिन्छ । कूल १२८ पृष्ठ आयाममा फैलिएको मझौला कदको आर्याले सिटौलाको लेखनीलाई निखारताको मार्गतर्फ दौडाएको छ । आशा गर्ने ठाउँ छ यसलाई अझ परिष्कृत गर्दै सफलताको शिखरमा पुर्याउने अवश्य छन् सिटौलाले आफ्नो आख्यानयात्रालाई । यात्रामा दौडिरहेका सिटौलाका लेखनीले अन्यायका असंख्य घाँटीमा खुकुरी प्रहार गर्न सकून् र सकून् व्यवहारिक तहबाटै अन्यायको अन्त्य गर्न । शुभकामना !
साभार : कमान्डर पोस्ट राष्ट्रिय दैनिक, २०७१ असार २८ शनिबार
No comments:
Post a Comment