ए ! भाते जिन्दगी - आत्मपरक निबन्ध - विचार-विमर्श

नयाँ

Saturday, April 11, 2020

ए ! भाते जिन्दगी - आत्मपरक निबन्ध

     
जिन्दगी कसले बनायो? 
तस्बिर - गुगलबाट साभार गरिएको हो । 

विज्ञानले वा ज्ञानले? खुदा वा डार्बिनले ? प्रभुले वा ब्रह्माले ? ब्रह्मशून्य म के भनूँ– सुरुआत कसले गर्‍यो? त्यो म जान्दिनँ। जानेको कुरा सत्य ठान्दिनँ। नजानेको कुरा सत्य मान्दिनँ। साँच्चै भनूँ दोधारमा छ मन। काँडेतारमा छ। कतै प्यारमा छ। तिरष्कारमा छ। कसैको स्वीकारमा छ। कसैको प्रतिकारमा छ। धरापमा छ। पड्कियो भने सम्भवतः कोही बाँच्दैनन्। बाँचे पनि स्थिति प्रलयको घेरामा हुन्छ। भौतारिँदै बाँच्नुुपर्छ। के अर्थ, बेतुक जिन्दगी भोगाइको? र पनि सत्य यो छ कि– बाँच्नुपर्छ। जिन्दगी खतराको खोलमा डार्बिन/नवडार्बिनवादसँग पौठेजोरी खेलिरहेको छ।
अमौसम–असमय नियतिको पञ्जामा चल्ला बनेर हल्लाको पछाडि दौडनु नै आजको वास्तविक जिन्दगी हो र बाँचिरहेका छन् यही जिन्दगी सबै अभिशप्त मनुवाहरू। जिगिषा र जीजिविषाको मैदानमा त्रासको बारुद बोकेर आश्वासनको गोलीमा परेड खेलिरहेका छन्– लाखौँ बेतुक जिन्दगीहरू। कसले भन्ने दोधारे मनको अन्तिम सत्य केमा अडेको छ ? कुनै कुरामा रस छैन। फुस्रो जिन्दगी धमिराले खाएको काठजस्तो। बिनासित्ती फोसि्रएर बस्न विवश जिन्दगीले न त वाल्मीकी बन्न दिन्छ न त गर्छ घोषणा रत्नाकार हुँ भनी। विस्मयबोधी चिह्नले आफैले आफैलाई हेरी ब्रह्माजीको प्रयोगशालाबाट भन्न मन लाग्छ– 'ए ! भाते ...।' बोली खस्न नपाइ भन्छ– 'हजुर! सेवक हाजिर छ।' धन्य भोलिवादका क्षेप्यास्त्र व्यङ्ग्य नायक श्री १००८ भैरव बाजेलाई !
                                                     
                                                                     ०००

असीमित प्रश्नहरूका बीचमा परिभाषामा जिन्दगी। कहिलेकाहीँ मन डुबाउन मन लाग्छ अलिकति र डुबाइदिन्छु जिन्दगीको परिभाषा खोज्न, बेतुक भोगाइहरूको संग्रह– जिन्दगीको एउटा पोको खोलेर। उतार–चढावको कुनै पर्वाह छैन। दौडनु, भौँतारिनु, थचारिनु, उठ्नु र पुनः दौडने चेष्टा गर्नु मेरो नियमितता हो। यसैमा अभ्यस्त छु, हिजोदेखि आजसम्म र 'नेछु'को सामान्यकालिक क्रियापदले मलाई सताइरहनेछ सायद यसैगरी। जीवन भोगाइको अर्थमा म कतिपटक आफैभित्र कैद भएको छु। सोच्न थाल्छु पीडा बढ्छ। भो अब त सोच्दिनँ भन्यो झन् पीडा थपिन्छ। जे गरे'नि सुख छैन। त्यसैत्यसै बग्छ जिन्दगी र बगिदिन्छु स्वयं बग्ने अनेकौँ तालसँगै। आफूलाई मनुवाको खोल ओढाउन थालेदेखि एउटा डरलाग्दो विस्मयबोधी चिह्नले बेलाबेला परीक्षण गरिरहेको छु आफैलाई। यही परीक्षणभित्र खोजिरहेछु– जीवनको परिभाषा।
हाँसो–रोदन, सुख–दुःख, धनी–गरिब जहीँतहीँ विपरीत धार मात्र। मान्छेमा किन हुँदैन समानता? परिश्रम गर्नेहरू भोकभोकै मरिरहेका छन्। जो परिश्रम नै गर्दैन उसैको बोलवाला चल्छ। दिनभरि गिट्टी कुट्यो बेलुकी नुन किन्न पुग्दैन। कोही ब्ल्याकमा सुनको कारोबार गरिरहेका छन्। कालोलाई सेतो बनाइरहेका छन्। सेतोलाई कालो बनाइरहेका छन्। भित्र कुख्यात हुनेहरू बाहिर प्रख्यात छन्। नारा तिनैको छ। सारा तिनैको छ। तिनैको घाँटीमा फूलमाला हुन्छ। ताली तिनैमा पिटिन्छ। आफू हुनुको अस्तित्व लिलामीमा थापिरहेका छन् सोझा जनता। सभ्यताका एक हुल टाउकाहरू प्रत्येक दशकमा विद्रोहको घोषणा गर्छन् र अर्को दशकमा विजयको माला पहिरिन्छन् र भन्छन् यो जित जनताको हो। अनि सुनाइन्छ अनेक मन्त्रहरू। तन्त्रहरू। विचरा जनताको पत्रपत्रैको जिन्दगी सधैँको अलपत्र।
चोकचोकमा सभाको आयोजना। यो डेमोत्रे्कटिकहरूको देन हो। यसलाई भनिन्छ प्रजातन्त्र। यसलाई भनिन्छ जनताको शासन। यो त्यति सजिलै प्राप्त हुने मनको लड्डु होइन। आफूलाई कम्युनिस्ट भन्नेहरूमा चेतना भया ! एकाथरिको सन्दर्भ।
विद्रोहको गति अन्ततः सत्तामा परिणत भएको छ। यो कसैको पेवा होइन। जसलाई जतिबेला मन लाग्यो उति नै बेला भोग गर्ने। मार्क्सवादले सिकाएको क्रान्तिको बलमा प्राप्त उच्च गति हो यो। यसको अन्तिम लक्ष्य वैज्ञानिक साम्यवाद। यसको सम्मान गर्नु र सम्पूर्ण सर्वहारा वर्गको उत्थान गर्नु अबको कार्यदिशा हुनेछ। तपाईंहरू विचलित नहुनुहोस्। हामी तपाईंको सपना साकार पार्नेछौँ। अब कोही पनि भोकै मर्ने छैनन्। कोही पनि बेरोजगार बस्नुपर्ने छैन। समतामूलक समाजको निर्माण हामी गर्नेछौँ। अर्काथरिको सन्दर्भ।
यहाँ अभ्यासका नाउँमा सन्दर्भहरू धेरै आए। धेरै गए। तर, रचनाको गर्भ सधैँ अज्ञात रह्यो। योजनाका आश्वासनमा मानिसले जुग बिताए। केश पकाए। न अँगेनामा आगो बल्यो न बारीमा धान फल्यो! न पढेकाले अवसर पाए न त परेकाले सीप। न त भए बेरोजगार रोजगार न परिभाषामा जस्तो प्रजातन्त्र आयो! न भयो समतामूलक समाजको  निर्माण न पाए सर्वहाराले आहारा! आज हाम्रो जीवनको परिभाषा नै बदलिएको छ। पहिचान, अस्तित्व, चिनारी जे भन्नोस् कसैको कुनै भाउ छैन। मानिसमा न उमंग छ न कुनै रंग। एउटै त्रास छ भरे खान पाइन्छ कि पाइँदैन। कतिञ्जेल बोक्ने त्रास? कतिञ्जेल बोक्ने आस? बर्बादीको लामो शृंखला बोकेका आजको पुस्ताको न त कुनै वर्तमान देख्छु न त भविष्य! अँध्यारो खाडलमा धकेलिएको पुस्ताको भविष्य नालापानी र कालापानीसँगै सुस्तामा अडेको छ। एकपछिको अर्को पुस्तामा अडेको छ। बाँच्नुपर्ने थियो सीमाविहीन भएर, तर बाँचिरहेछन् दिनप्रतिदिन खुम्चिएर। 
अतिशय पीडा बोकेपछि मान्छे पीडाकै ज्वालामुखी उकेल्न बाध्य हुन्छ। सास किनेर लास जोगाइरहेका विवश मान्छेको जिन्दगीको कुनै मूल्य छैन ! समयको कुनै मेल छैन। बाँच्नका लागि मान्छे खाइरहेका छैनन्, खानका लागि बाँचिरहेका छन्। हिलाम्मै भएको असारे जिन्दगी कैयैँ बाढीसँग बग्दाबग्दै अन्ततः बग्नै नसक्ने गरेर बालुवाको चिहानमा परिणत भइरहेको छ। हाम्रै आँखाअगाडि बलात्कृत भएका हाम्रा सपनाले जन्माएका नाजायज सन्तानहरूसँग के आशा गर्नू? सपना हुन्छन् सबैसँग लक्ष्यमा पुग्ने। भन्न सकिँदैन सपना कहाँबाट देखाइन्छ र कहाँबाट अन्त्य गराइन्छ? को हो सपनाको हत्यारा? कसले गर्ने वकालत? स्वयं न्यायालय नै अन्यायले घेरिएको ठाउँमा न्यायको बहसमा उत्रने को?
सामान्य अभ्यासले बदलिने छैन मेरो जीवनको परिभाषा। मैले भोगेको युगको परिभाषा। परिभाषा नै संकटमा देखिरहेछु। स्वार्थको एउटा विशाल झुण्ड दलाली बनेर मेरो जीवनभित्र राज गरिरहेछ। किनबेच गरिरहेछ आफ्नै भावहरू–अभावको चाङमा बसिकन। हिजोसम्म अतिथि देवो भवः भन्दै आएका हाम्रा प्राचीन वाणीहरू अर्वाचीन सभ्यताभित्र विश्वासको संकटमा गुञ्जिरहेको छ। संसारमा स्वार्थहीन भनिएका गुरु, माता औ पिता नै चेला औ सन्ततिका लागि डरलाग्दो प्रश्नचिह्न भइरहेका छन्। चिनेको भन्दा किनेको टिकाउयोग्य ठहर्छ। ज्ञानभन्दा सत्ता बढी शक्तिशाली देखिन्छ। बुद्धिभन्दा बल उँभो लागिरहेको छ। वर्तमानको सबैभन्दा खतरनाक शक्ति पैसा, पद र प्रतिष्ठा देखिन्छ। यिनै तीन 'प' को प्राप्ति अन्तिम सत्य बनेको छ र यही 'प' पाउन प्राणीहरू पतीत भइरहेका छन्। जसरी पनि आफू हुनुको अस्तित्व रक्षार्थ संघर्षरत छन् मनुवाहरू। उसले मलाई चिन्दैन। मैले उसलाई चिन्दिनँ। हामीले हामीलाई चिन्दैनाँै। मधेसले पहाडलाई चिन्दैन। पहाडले हिमाललाई चिन्दैन। हिमालले तराईलाई चिन्दैन। बाले छोरालाई चिन्दैनन्। छोराले बालाई चिन्दैन। सर्वपरिचित, सुपरिचित एउटै सत्य तीन 'प' हो। मानौँ यिनै भारतवर्षकी सिंगो द्रौपदी हुन् र यिनैको भोगमा लागिरहेछन् वर्तमानका पाण्डवहरू। न अर्जुनको राज न दुर्योधनको ताज, न कृष्णको कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन न युधिष्ठिरको ...अश्वत्थामा हतो हतः। यहाँ कुनै कृष्णहरूको श्रीमद्भगवत् गीता सुन्ने धैर्यवान् अर्जुनहरू जन्मने छैनन् न युधिष्ठिरको सत्यवादी सन्दर्भ। सबैलाई सबैभन्दा पहिले कृष्ण बन्नु छ र सुनाउनु छ गीता दर्शन, तर दुर्भाग्य गीता श्रवण गर्ने कुनै अर्जुनको जन्म हुने छैन। सबैलाई कृष्ण बन्नु छ अर्जुन बन्ने को ? सबैलाई अध्यक्ष बन्नु छ सदस्य बन्ने को? सबैलाई नेता बन्नु छ कार्यकर्ता बन्ने को ?
म राम्रो बोल्छु। तिमी ठीक भन्छौ। हामी सत्य बौल्छौँ। समाज बुर्जवा ठान्छ। म नराम्रो बोल्छु। तिमी बेठीक भन्छौ। हामी झुठ बोल्छौँ। समाज असल ठान्छ। असल र खराबको कुनै मापन छैन। यसो भए राम्रो, उसो भए नराम्रो–कसैको ज्ञापन छैन। वर्षौँदेखि यसरी नै अल्भि्करहेको छ हाम्रो समाज–संस्कृति–सभ्यताको परिभाषा। कालो गोरुलाई कमेरो दलेर सेतो बनाउने पनि हामी नै हौँ। सेतो गोरु किनेँ भनी मख्ख हुने पनि हामी नै हौँ। दैलामुनिको बारी बाँझो राखेर सोयाबिनको तिउन खाने पनि हामी नै हौँ। घरअगाडि 'डम्पिङ साइट' बनाउँछौँ र छतमा बसेर नगरपालिकालाई गाली गर्छौं। पुर्खाले बिरालो बाँधेर श्राद्ध गरेको देखेका सन्तति छिमेकबाट बिरालो खोजीखोजी तिनै पुर्खाको श्राद्ध गरिरहेका छन् र आफूलाई भाग्यमानी सभ्यताको भाग्यमानी सन्ततिको उपाधिले अभिनन्दन गरिरहेका छन्।
यी र यस्तै सन्दर्भहरूको सप्रमाण खोजीमा कहिले उत्तरबाट हिँडेर दक्षिण पुग्छु त कहिले पूर्वबाट निस्केर पश्चिम। जहाँ पुगूँ एउटा ठूलो ढोका भेटिन्छ। ढोकाहरूमा आआफ्नै सङ्कीर्णताको चाबी झुण्डाइएको छ। द्वारे छन् सँगै। मसाल बोकेका। साल बोकेका। नाल बोकेका। सोधिन्छ सातपुस्ते नालिबेली। गरिन्छ तन–मन सबैको पोस्टमार्टम। सहगोत्रीय ठहरिए मारिन्छ इन्ट्री। होइन भने उहिल्यै स्वस्थानीमा महादेवले सतीदेवीको लास बोकेझैँ आफ्नै जिउँदो लास बोकेर निस्कनुपर्छ अज्ञात भ्रमणमा। न त विष्णुले लास गलाउने माखाको उत्पत्ति गरी पठाउँछन् न पतन हुन्छ कुनै पीठ न उत्पत्ति हुन्छ कुनै महादेवको !
                                                                   ०००
विश्वेश्वरप्रसाद कोइरालाले मोदीआइनमा भनिदिए– ठूलो मान्छे होइन असल मान्छे बन। असल मान्छे बन्न धेरै पटक कोसिस गरेँ। धेरैका पसल–पसल दौडिएँ, तर असलको फसल कतै भेटिएन। 
म वषौँदेखि जीवनको परिभाषा खोजिरहेको छु। यसरी नै ...!

स्रोत : नागरिक दैनिक, अक्षर (शनिबार, १५ असोज २०७३, ०९ : ५९)

No comments: